काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई २ वर्षमा तहसनहस पारेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै अध्यक्ष ओलीले एमालेले कठिन अवस्थामा पनि चलायमान बनाएकाे अर्थतन्त्रलाई गठबन्धन सरकारले ध्वस्त पार्नुभयाे ।
२०७४ काे एक दशकमा ४ प्रतिशत भन्दा कम दर रहेकाे आर्थिक वृद्धि ३ वर्षमा सरदर ६ दशमलव ५ प्रतिशतले बढेकाे भन्दै उहाँले साेही अवधिकाे विश्लेषण गर्दै बेलायतकाे द इकाेनमिक पत्रिकाले २०१९ काे डिसेम्बरमा नेपाललाई उच्च आर्थिक वृद्धि हासिल गर्ने विश्वका १० मुलुकभित्र समावेश गरेकाे स्मरण गराउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'विश्वका तीब्र आर्थिक विकास गर्ने १० वटा देशभित्र पुगिसकेकाे नेपाललाई नागपासा खेलेझैं देशलाई ९९ बाट २ मा कसरी झार्नुभो ?'
राष्ट्रिय तथ्यांक कार्यालयले नेपालकाे आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चिने अनुमान गरेकाे भन्दै उहाँले त्याे पनि नपुग्ने बताउनुभयाे । अध्यक्ष ओलीले नेकपा एमालेकाे सरकारलाई विस्थापन गरी बनेकाे कांग्रेस माओवादीसहितकाे गठबन्धन सरकार नै देशकाे अर्थतन्त्रलाई संकटकाे ढिलमा पुर्याउने प्रमुख कारण भएकाे बताउनुभयाे ।
अर्थतन्त्रकाे सबै सूचक खराब अवस्थामा रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । अर्थतन्त्रलाई सही दिशा दिइरहेकाे एमाले सरकार ढालेकाे यही दिन ल्याउनलाई हाे भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयाे - 'केही यही दिन ल्याउनका लागि, अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि याे गठबन्धन बनाएकाे हाे ? याे देश र जनताका लागि बनाएकाे हाे कि ? देश र जनतालाई कष्ट बनाउन बनाएकाे ? याे गठबन्धन दु:खकाे कारण भएकाे छ ।'
उच्चदरकाे आर्थिक वृद्धि कसरी गर्ने, लगानी कसरी गर्ने, लगानीका स्राेत कसरी जुटाउने, स्राेतकाे वचत कसरी गर्ने भन्ने कुनै विषयमा सरकारले नीति कार्यक्रम दिन नसकेकाे अध्यक्ष ओलीले बताउनुभयाे । अर्थतन्त्रलाई अस्थिर बनाउँदै विगतका उपलब्धिलाई समाप्त पार्ने नियतकासाथ अघि बढेकाे उहाँले बताउनुभयाे ।
अध्यक्ष ओलीले आफू नेतृत्वकाे सरकारले छाेटाे अवधिमा धेरै काम गरेकाे स्मरण गराउनुभयाे । तर गठबन्धन सरकारले २ वर्षमा सरकार गिराउने र बनाउने बाहेक केही नगरेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे - 'खेल खेल्ने, गाेटी सार्नेबाहेक २ वर्षमा के गर्नुभयाे ? एमालेकाे सरकार नबनेकाे भए मेलम्ची अहिलेपनि पूरा हुने थिएन, गर्न खाेजियाे भने छाेटाे समयमै धेरै गर्न सकिँदाे रहेछ त्याे हामीले गर्याैं ।'
