काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालापानीबाट भारतीय सेना हटाउनका लागि सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रममाथिको छलफलमा बाेल्दै अध्यक्ष केसीले नेपालकाे राष्ट्रियता, सार्वभाैमिकता र अखण्डतामाथि छिमेकीले जबरजस्ती प्रहार गरिरहेकाे बताउनुभयाे ।
छिमेकीले कब्जा गरेकाे नेपाली भूमिबाट भारतीय सेना हटाउनुपर्ने भन्दै उहाँले नीति तथा कार्यक्रमकाे बुँदा नम्बर १० मा कालापानीबाट भारतीय सेना हटाउने भन्ने वाक्य थप्न माग गर्नुभयाे ।
नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित संघीयता भन्ने शब्द हटाउनुपर्ने माग पनि अध्यक्ष केसीले गर्नुभयाे । 'संविधान र संघीयताकाे प्रभावकारी भन्ने वाक्यांश हटाइ संघीयता खारेज गरी संविधान कार्यान्वयन भन्ने वाक्य राख्नुपर्छ, संघीयता हुँदैहुँदैन, हामीले सुरुदेखि नै चाहिँदैन भनेका हाैं, तपाइँहरु सबैका मनमा छ याे पाल्न सकिन्न भन्ने'- उहाँले भन्नुभयाे ।
चीन, जापान, फ्रान्सजस्ता देशलाई संघीयता नचाहिने भन्दै अध्यक्ष केसीले नेपालजस्ताे सानाे देशलाई संघीयता नचाहिने बताउनुभयाे ।
आफू सहकारी मन्त्री हुँदा सहकारीका माफियाले २५ अर्ब ठगेका भन्दै उहाँले अहिले सहकारीका नाममा १४ अर्ब हिनामिना गरेकाे तथ्यांक पाइएकाे बताउनुभयाे । सहकारीका नाममा नेपाली जनतालाई लुट्ने लुटेराहरुलाई सरकार कारबाही गर्न नसक्ने अध्यक्ष केसीले बताउनुभयाे । सत्ता र शक्तिमा बसेकाले नै सहकारी सञ्चालन गरिराखेकाले सरकारले कारबाही नगरेकाे बताउनुभयाे ।
आफू मन्त्री हुँदा सहकारी एेन राम्राे बनाउन नसकिएकाे उहाँले बताउनुभयाे । कहिँ मतभेद भएपनि याे सरकार हट्न नहुने र नीति तथा कार्यक्रम पारित हुनुपर्ने समेत अध्यक्ष केसीले बताउनुभयाे ।
