काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् साेविता गाैतमले साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथि संशाेधन प्रस्ताव पेस गर्दै सांसद् गौतमले नीति तथा कार्यक्रमकाे बुँदा नम्बर ६२ मा त्याे विषय थप्न माग गर्नुभयाे ।
'बुँदा ६५ मा कपिलवस्तुकाे तिलाैराकाेट र जनकपुरकाे जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गरिनेछ भन्ने रहेछ, यसमा म थप्न चाहान्छु - काठमाडाैं क्षेत्र नम्बर-२ मा रहेकाे साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरियाेस्, किनभने यसकाे पनि एेतिहासिक महत्व छ'- उहाँले भन्नुभयाे ।
सांसद् गाैतमले विद्युतीय सवारी साधनको प्रयोगका लागि प्रोत्साहन गर्न हाेटल, पार्किङस्थल, साथै राजमार्गका ठाउँ-ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने कुरा नीति तथा कार्यक्रममा राख्न सुझाव दिनुभयाे ।
नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन र बजारीकरणलाई विशेष प्राथमिकता दिँदै अदुवा, अलैंची, लसुनजस्ता उत्पादनलाई नीति तथा कार्यक्रममा नै उल्लेख गरेर प्रोत्साहन गरिनुपर्ने पनि उहाँले बताउनुभयाे ।
देशका विभिन्न आयोजनाहरू मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेका भन्दै सांसद् गाैतमले ती समस्यालाई समाधान गर्न विशिष्टिकृत संरचना बनाउन माग गर्नुभयाे ।
