काठमाडाैं । नेकपा एमालेका सांसद् एकनाथ ढकालले सरकारकाे नीति तथा कार्यक्रम गन्तव्यहीन भएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि संशाेधन प्रस्ताव पेस गर्दै सांसद् ढकालले नीति तथा कार्यक्रम सतही भएकाे बताउनुभयाे । उहाँले नीति तथा कार्यक्रमकाे स्पष्ट प्राथमिकता र निश्चित गन्तव्य केही नभएकाे उहाँले बताउनुभयाे ।
विनियाेजन विधेयकका सिद्धान्त र प्राथमिकतासँग नीति तथा कार्यक्रम मेल नखाने भन्दै सांसद् ढकालले याे विराेधाभासपूर्ण भएकाे बताउनुभयाे । नीति तथा कार्यक्रमकाे लक्ष्य सरकारी खर्चमा मितव्ययिता र विकास खर्चमा वृद्धि भन्ने रहेकाे तर ठिक उल्टाे सरकारी खर्चमा वृद्धि, विकास खर्चमा मितव्ययिता भन्ने निष्कर्षमा आफू पुगेकाे उहाँले बताउनुभयाे ।
नेपाललाई शान्ति क्षेत्र घाेषणा गर्न सांसद् ढकालले माग गर्नुभयाे । नीति तथा कार्यक्रम सामाजिक, राजनीतिक र आर्थिक चुनाैतीकाे पहिचान र समाधान गर्नतर्फ असफल उन्मुख रहेकाे उहाँले बताउनुभयाे । सरकारले गलत विवरण प्रस्तुत गरेर जनतालाई भ्रममा पारेकाे बताउँदै सांसद् ढकालले भन्नुभयाे - 'चालु खर्च धान्ने ऋण लिनुपर्ने अवस्था छ, अर्थतन्त्र ओरालाे लागेकाे छ, आर्थिक वृद्धि न्यून हुनु र मूल्य वृद्ध उच्च हुनु आफैंमा नेपाली अर्थतन्त्रकाे चुनाैती हाे, तर आर्थिक लगायत सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएकाे छ भनेर सरकारले मिथ्या विवरण प्रस्तुत गरेकाे छ ।'
विगतका राम्रा कामलाई निरन्तरता दिनुपर्नेमा सरकारले जनप्रिय र राष्ट्रपक्षीय कार्यक्रम काटेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । 'खासगरी केपी ओली नेतृत्वकाे सरकारले थालेका सबै जनपक्षीय तथा राष्ट्रपक्षीय नीति तथा कार्यक्रमलाई खारेज गर्नु राष्ट्र र जनताप्रतिकाे अन्याय हाे, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खाेइ ? राष्ट्रपति महिला उत्थान कार्यक्रम खाेइ ? जनता आवास, जनताकाे तटबन्धन कार्यक्रम किन हटाइयाे ?'- ढकालकाे प्रश्न छ ।
शान्ति पक्रियाका बाँकी काम गर्न सरकारलाई कसले छेक्याे भन्ने प्रश्न पनि उहाँले गर्नुभयाे ।
