काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् बलराम अधिकारीले सरकारले जनतालाई झुक्याएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि बासुदेव घिमिरेकाे तर्फबाट संशाेधन प्रस्ताव पेस गर्दै सांसद् अधिकारीले सरकारले जनतालाई ढाँटेकाे बताउनुभयाे । केही दिन अगाडि देशकाे अर्थतन्त्र खराब अवस्थामा छ भनेकाे सरकारले नीति तथा कार्यक्रममा सुधार छ भनेर जनतामा भ्रम फैलाएकाे उहाँकाे भनाइ छ ।
विनियाेजन विधेयका सिद्धान्त र प्राथमिकता अनि नीति तथा कार्यक्रममा विराेधाभास देखिएकाे भन्दै सांसद् अधिकारीले १२-१३ दिनमै कसरी परिवर्तन आयाे भन्दै प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - 'विनियाेजन विधेयका सिद्धान्त र प्राथमिकतामा भनेका कुरा र नीति तथा कार्यक्रमका कुरामा विराेधाभास छ, अर्थतन्त्र ह्रासमा छ लक्ष्यमा पूरा भएकाे छैन भनिएकाे थियाे अहिले सबै गरिएकाे छ भनिएकाे छ १२१३ दिनमा यस्ताे उथलपुथल परिवर्तन आयाे त्यस्ताे जादुकाे छडी के निस्कियाे र यति छिट्टै सबै पूरा भए यसले के देखाउँछ भने याे जनतालाई झुक्याउने र ढाँट्ने प्रवृत्ति मात्रै हाे ।'
विगतकाे सरकारले ल्याएका कार्यक्रम र याेजनालाई निरन्तरता दिनुपर्नेमा हटाइएकाे भन्दै सांसद् अधिकारीले आपत्ति जनाउनुभयाे । प्रधानमन्त्री स्वराेजगार कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम जनता आवास र जनता तटबन्ध सुरक्षित घरछाना जस्ता एमाले सरकारका पालामा ल्याइएकाे लाेकप्रिय र जनप्रिय कार्यक्रम हटाइएकाे उहाँले बताउनुभयाे ।
१ पालिका १ हुलाक भनिएकाे भनिएकाे भन्दै सांसद् अधिकारीले विगतमा एमालेकाे सरकार हुँदा हुलाककाे वचन बैंक ल्याऔं भन्दा विराेध गरिएकाे बताउनुभयाे । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरिएकाे भन्दै उहाँले सम्पन्न भएका २ वटा विमानस्थललाई चालु गर्ने कुरामा प्राथमिकता दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
एकीकृत लुम्बिनी संयुक्त कार्यक्रम लागू गर्दै लुम्बिनीसँग जाेडिएका ठाउँलाई सबैलाई एकरुपता दिनेगरी कार्यक्रम ल्याउनुपर्ने सुझाव अधिकारीले दिनुभयाे । ३ तहकाे सरकारबीच राम्राे समन्वय हुनुपर्ने पनि उहाँले बताउनुभयाे ।
सैद्धान्तिक आधार केही नभएकाले नीति तथा कार्यक्रम पूर्ण रुपमा असफल भएकाे बताउनुभयाे ।
