काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् सूर्य थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रम 'टालाटुली बाटुली, कति राम्री पुतली' जस्तो भएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि संशाेधन प्रस्ताव पेस गर्दै सांसद् थापाले ९ रंगी गठबन्धनले आफूजस्तै नीति तथा कार्यक्रम ल्याएकाे बताउनुभयाे ।
नीति तथा कार्यक्रम नवरंगी खिचडी जस्ताे भएकाे पनि उहाँले बताउनुभयाे । सांसद् थापाले भन्नुभयाे - 'यसलाई मैले गठबन्धनकाे नीतिका रुपमा लिएकाे छु, ९ वटा पार्टीको गठबन्धन नवरंगी छ, खिचडी फकाउने काेशिस भएकाे छ, जनस्तरमा भनिएजस्ताे टालाटुली बटुली कति राम्री पुतली बनाउन खाेजिएकाे छ, नीति तथा कार्यक्रम अन्योलमा छ, द्विविधाग्रस्त र समस्याग्रस्त छ, यसमा लय, सुर र ताल छैन ।'
नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'जस्तो गठबन्धन, त्यस्तै नीति, त्यस्तै सरकार र त्यहीस्वरुपको लिखत आएको छ, यसले आजको नेपाली समाजलाई आत्मविश्वासपूर्वक नेतृत्व गरेर अघि बढाउन सक्दैन, यसलै आफ्नै निर्वाचन घाेषणापत्र, संयुक्त नीति तथा कार्यक्रमकाे प्रतिबद्धता पनि बिर्सेकाे छ, तसर्थ यसकाे पुर्नलेखन गर्नुपर्छ ।'
प्रतिबद्धता र आश्वासनकाे खाेक्राे पुलिन्दाका रुपमा नीति तथा कार्यक्रम आएकाे सांसद् थापाले बताउनुभयाे । तथ्यसँग मेल नखाने झुठाे लिखत तयार पारिएकाे भन्दै बहसका लागि आउन सरकारलाई चुनाैती दिनुभयाे ।
देशकाे आर्थिक संकटलाई नीति तथा कार्यक्रमले अनदेखा गरेकाे सांसद् थापाले बताउनुभयाे । नीति तथा कार्यक्रम प्रधानमन्त्री र मन्त्रीकाे क्षेत्रमा केन्द्रित भएकाे भन्दै उहाँले याे भडुवा नीति भएकाे बताउनुभयाे । नेपाली जनताकाे आवश्यकतालाई यसले बाेल्न नसकेकाे बताउनुभयाे ।
यस्तै एमालेकै सांसद् जुलीकुमारी महताेले पनि नीति तथा कार्यक्रम टालाटुली बटुली कति राम्री पुतली जस्ताे भएकाे बताउनुभयाे ।
