काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा सरकार गम्भीर नभएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै अध्यक्ष ओलीले संघीयताकाे भावना नबुझ्ने अनि सफल भयाे भन्दै हिँड्ने काम सरकारले गरेकाे बताउनुभयाे ।
सबैलाई साथ लिएर अगाडि बढेमात्र संघीयता कार्यान्वयन हुन सक्ने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'सबैलाई साथ लिएर हिँड्ने प्रवृत्ति नै देखाइएकाे छैन, संघीयता त प्रदेश र स्थानीय तह सबैलाई साथ लिएर, सबैकाे विश्वास जितेर समन्वयात्मक ढंगले काम गर्दा अगाडि बढ्ने हाे, मजबुद हुने हाे ।'
अहिलेकाे सरकार यस मामलामा एक्लै हिँड्न खाेजेकाे बताउँदै उहाँले भन्नुभयाे - 'अहिलेकाे सरकारले म प्रधानमन्त्रीबाट हटेपछि राष्ट्रिय समन्वय परिषद्काे एउटा बैठक बाेलाएकाे छैन, मुख्यमन्त्रीलाई एक पटक बाेलाएर सरसल्लाह गरेकाे छैन, अहिले पनि बजेट बनाउने बेला भइसक्याे, नीति तथा कार्यक्रम आइसक्याे, तर प्रदेशकाे मुख्यमन्त्रीहरुलाई बाेलाइएकाे छैन, प्रदेशका समस्या के छन् कसरी गर्नुपर्छ भनिएकाे छैन, स्थानीय तहहरुसँग कुनै साेधपुछ छैन ।'
आफूले सरकारमा छँदा मुख्यमन्त्री र स्थानीय तहकाे प्रतिनिधि संस्थालाई बाेलाएर छलफल गरेकाे स्मरण गराउँदै उहाँले आफू प्रधानमन्त्रीबाट हटेपछि संघीय भावना र स्प्रिटलाई नसमातिएकाे बताउनुभयाे । संघीयता कार्यान्वयनमा उदासिनता देखाउने अनि सफल भयाे भन्दै हिँड्ने प्रवृत्ति सरकारमा देखिएकाे भन्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे - 'केहीपनि नगरेपछि संघीयता सफल हुन्छ ? कसैसँग छलफल सरसल्लाह नगरेपछि सफल हुन्छ संघीयता ?'
आफू सरकारबाट हटेपछि २३ महिनासम्म संवैधानिक परिषद्काे बैठक नबाेलाइएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'अहिले प्रधानन्यायाधीश चाहियो कि चाहियो भनिराखेका छन्, यस्तो इम्प्रेसन दिन खोज्या छन् मानिलिऔं प्रमुख प्रतिपक्षले गर्दाखेरी, यो २३ महिना संवैधानिक परिषद्को बैठक किन बोलाइएन एक पटक पनि ? एउटा प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर छाडिदिने ? महाभियोगको प्रस्ताव निर्णयार्थ जान नदिने ? यस बदनियतपूर्ण ढंगले काम गरेर अनि लोकतन्त्र हुन्छ ? यसरी समयमा, न्यायिक र न्यायोचित ढंगले कामहरू हुन्छन् ? यसरी पारदर्शी ढंगले काम हुन्छन् ? कमीकमजोरी आफू गर्ने दोष अरूको टाउकातिर लगाइदिने ? यो खालको परिपाटी छाड्नुपर्छ ।'
नीति तथा कार्यक्रममा लाेकतन्त्रकाे आत्मा नरहेकाे उहाँले बताउनुभयाे ।
