काठमाडाैं । नेपाली कांग्रेसका सांसद् जीवन परियारले देशकाे अवस्था अस्तव्यस्त रहेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै सांसद् परियारले देशमा खान नपाएर मान्छेले मृत्युवरण गर्नुपरेकाे अवस्था रहेकाे बताउनुभयाे ।
मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था भनेकाे सबैभन्दा जर्जर अवस्था रहेकाे भन्दै उहाँले यस जर्जर अवस्थालाई अन्त्य गर्न सबै दल मिलेर अगाडि बढ्नुकाे विकल्प नभएकाे बताउनुभयाे ।
'आजपनि देशमा खान नपाएर मान्छेकाे मृत्यु भएकाे छ, उपचार गर्न नसकेर अकालमा मान्छेकाे मृत्यु भएकाे छ, शिक्षा हासिल गर्न नपाएर, अन्तरजातिय विवाह गरेकाले मृत्यु भएकाे छ, छुवाछुतका कारण जाजरकाेटमा नवरान विकहरुकाे हत्या भएकाे छ र राेजगारी नपाएर विदेशमा जानुपर्दा विदेशमा गएका हाम्रा छाेराछाेरीकाे मृत्यु भएकाे छ, मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था भनेकाे सबैभन्दा जर्जर अवस्था हाे, यस्ताे अवस्था सृजना हुनुभन्दा ठूलाे कुरा केही हुन सक्दैन, त्यसकारण मान्छे बाँच्न पाउनुपर्छ'- परियारले भन्नुभयाे ।
देशमा राजनीतिक क्रान्ति सफल भएकाे भन्दै उहाँले अब सामाजिक आर्थिक क्रान्ति सफल बनाउनुपर्ने बताउनुभयाे । देशकाे समृद्धिका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने सांसद् परियारले बताउनुभयाे । शिक्षा, स्वास्थ्य, खानेपानी, उर्जा सबै क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयाे । लगानीमैत्री वातावरण बनाउनुपर्ने भन्दै उहाँले यसका लागि सबैलाई अवसर दिनुपर्ने बताउनुभयाे ।
नीति तथा कार्यक्रम पुर्नलेखन गरेको इतिहास नभएकाे पनि सांसद् परियारले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सरकारको नीति तथा कार्यक्रममा छलफल भइराख्दा केहीँ पूर्ववक्ता माननीय सांसदहरुले यो काम छैन, संशोधन गर्नुपर्छ भन्नुभयो, हामीले यस्ता धेरै नीति तथा कार्यक्रमहरु हेरौं, ल्यायौं , धेरै पूर्वप्रधानमन्त्रीहरुले यस्ता नीति तथा कार्यक्रमहरु ल्याए, तर, नीति तथा कार्यक्रम संशोधन भएको कुनै इतिहास छैन ।'
