काठमाडाैं । नेकपा एमालेका सचिव एवं सांसद् याेगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्दप्रति आपत्ति जनाउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद् भट्टराईले ०७२ सालकाे संविधानपछि पहिलो पटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको भन्दै आपत्ति जनाउनुभयाे । कांग्रेसले जनयुद्ध स्वीकारेकाे हाे भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
संसद् र गठबन्धनकाे सबैभन्दा ठूलाे दल कांग्रेसकाे स्वीकृतिमै याे परेकाे भन्दै सांसद् भट्टराईले अहिलेकाे कांग्रेसलाई देखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्याे शब्द राख्नुभएकाे हुनसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'आज मेरा केही प्रश्न नेपाली कांग्रेसप्रति छ, यो संवोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ, यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध पनि उहाँ उच्चारण भएको छ।२०७२ काे संविधानपछि नेपालका कुनैपनि सरकारी दस्तावेजमा जनयुद्ध शब्द उल्लेख भएकाे छैन, पहिलाेपटक प्रधानमन्त्रीले राष्ट्रपतिकाे मुखबाट वाचन गर्न लगाउनुभएकाे छ ।'
अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले १९९३ तिर लेखेको द इण्ड अफ् हिस्ट्री द एण्ड लास्ट म्यानको चर्चा गर्दै सांसद् भट्टराईले अहिलेकाे कांग्रेसलाई नै लेखिएकाे हाे कि भन्ने महशुस भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'वीपी पछाडिकाे, गणेशमानपछिकाे किशुजी र गिरिजाप्रसाद जस्ता व्यक्तित्वपछि एउटा निम्छराे नेपाली कांग्रेसकाे हालत देखेर सायद नेपाली कांग्रेसलाई नै याे लेख्नुभएकाे हाे कि जस्ताे लागेकाे छ, १ नम्बर बुँदा र त्यसकाे स्प्रिडलाई कांग्रेसले स्वीकार्छ भने कांग्रेसकाे इन्ड अफ द हिस्ट्री हाे, हिजाे हाम्राे अध्यक्षले भनेजस्तै हिस्ट्रिले बाइबाइ भन्दैन सियु लेटर भन्छ भन्नुभयाे कांग्रेसलाई त्याे अपवाद हुनसक्छ, सायद नेपाली कांग्रेसलाई हिस्ट्रीले बाइबाइ गर्न सक्छ ।'
यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले उत्तर दिए हुने पक्षमा आफू रहेकाे बताउँदै सांसद् भट्टराईले भन्नुभयाे - 'यसकाे जवाफ त माननीय शेरबहादुर देउवाबाटै पाए हुन्थ्याे जस्ताे लाग्छ किनभने उहाँ कम बेाल्नुहन्छ, गठबन्धनकाे सबैभन्दा ठूलाे दलकाे नेता उहाँकाे स्वीकृति बिना याे नीति कार्यक्रम कसरी बनेहाेला ?'
