काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले देशकाे अर्थतन्त्र खराब अवस्थामा पुगेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथाका कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै सांसद् पाैडेलले देशकाे अर्थतन्त्रलाई लयमा ल्याउनका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयाे ।
देशकाे अर्थतन्त्र सुधार हुँदै गइरहेकाे छ भन्ने आसयकाे नीति तथा कार्यक्रममाथि सत्तापक्षकै सांसद् पाैडेलले भने अर्थतन्त्र खराब भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'एकअर्कालाई कटाक्ष गर्नुभन्दा, अहिलेकाे याे गम्भीर स्थितिलाई सम्हालेर अगाडि बढाैं, समाजवादउन्मुख सबल अर्थतन्त्र निर्माणका लागि साझा संकल्प गराैं ।'
आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने देखिएकाे र विदेशी लगानीको प्रतिबद्धता ३४ प्रतिशतले घटेको उहाँले बताउनुभयाे ।
देशकाे अर्थतन्त्र जाेगाउने गरी नीति तथा कार्यक्रम र बजेट आउने विश्वास उहाँले व्यक्त गर्नुभयाे । गठबन्धन भएकाले बहुमतमै नीति तथा कार्यक्रम पारित हुने सांसद् पाैडेलले बताउनुभयाे ।
नीति तथा कार्यक्रम सही भएकाे भन्दै उहाँले सबै क्षेत्रमा गरिएकाे प्रतिबद्धता सही भएकाे बताउनुभयाे ।
