काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै अध्यक्ष लिङ्देनले नीति तथा कार्यक्रमकाे स्पष्ट मार्गचित्र नरहेकाले पुर्नलेखन गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे देश सरकारमा बस्नेकाे मात्र हाेइन, याे देश बिग्रिँदा सरकारकाे मात्र हाेइन हाम्राे पनि बिग्रिन्छ, भावि पुस्ताकाे भविष्य बिग्रिन्छ, याे हामी सबैकाे साझा विषय हाे, त्यसकारण नमिलेकाे विषय लेखेर ल्याउँदा अप्ठेराे मान्नुपर्दैन, यसलाई पुर्नलेखन गर्न जरुरी छ ।
नीति तथा कार्यक्रमले अहिलेकाे आर्थिक संकट र समस्यालाई सम्बाेधन गर्न नसक्ने बताउँदै अध्यक्ष लिङ्देनले भन्नुभयाे - 'तपाइँ जनयुद्ध लेख्नुस्, के लेख्नुस्, आत्मरतिमा रमाउनुस्, लेख्याैं-घुसायाैं, शेरबहादुरजीलाई पनि बाेकाइदियाैं भनेर भन्नुस् त्यसले केही फरक पर्दैन, फरक मान्छेकाे जीवनमा, देशकाे जीवनमा पर्नुपर्छ, ल भन्नुस् त कुन त्यस्ताे नयाँ चिज आयाे ?'
अहिले देशको अवस्था सामान्य नरहेकाे तर नीति तथा कार्यक्रम सामान्य अवस्थामा ल्याउनेजस्ताे रहेकाे उहाँले बताउनुभयाे । अध्यक्ष लिङ्देनले भन्नुभयाे - 'अहिले देशको अवस्था सामान्य होइन, देशले र दुनियाँले जुन आर्थिक व्यहोरिराखेको छ, त्यसलाई हाम्रो परम्परागत कार्यशैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन, त्यसकारण यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढछौं भन्ने कुरा आउनुपर्दथ्यो, याे नीति तथा कार्यक्रम सामान्य अवस्थामा ल्याउनेजस्ताे छ ।'
नीति तथा कार्यक्रममा धेरै कुरा प्रष्ट नभएकाे, समस्याकाे पहिचान गर्न नसकेकाे र प्राथमिकता प्रष्ट पार्न नसकेकाे भन्दै उहाँले यसमा छलफल गर्नुपर्ने धेरै विषय रहेका बताउनुभयाे । बहुमतका बलमा पारित गरेपनि यसले देशलाई सही दिशा नदिने अध्यक्ष लिङ्देनले बताउनुभयाे ।
२ वर्षमा ५ लाख राेजगारी कसरी पाउँछन् भन्ने ठाेस याेजना खाेइ भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
