काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का सांसद् राजकिशोर यादवले नीति तथा कार्यक्रम अन्तरविराेधहरु र कन्फ्युजनहरुको संगालो भएकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै सांसद् यादवले नीति तथा कार्यक्रम टालटुले पाराले ल्याइएकाे बताउनुभयाे । यसले समस्याकाे पहिचानका उपाय पहिल्याउन नसकेकाे उहाँले बताउनुभयाे ।
देश आर्थिक मन्दीकाे बाटाेमा गइसक्दा पनि सरकार गम्भीर नदेखिएकाे सांसद् यादवले बताउनुभयाे । 'यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ यो अन्तरविरोधहरुको, कन्फ्युजनहरुको संगालो हो हामी स्पष्ट हुनुपर्छ समस्या याे हाे अब यसको उपचार यसरी हुन सक्छ यहाँबाट यात्रा तय गराैं, पोलिसीमा डिपार्चर नगर्ने, भइरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउछु भनेर गफ दिएर हुन्छ ?'- उहाँकाे प्रश्न छ ।
सच्चिएनाैं भने सक्किन्छाैं भन्ने मान्यताबाट अगाडि बढ्नुपर्ने बताउँदै सांसद् यादवले भन्नुभयाे - 'ग्लोबल अर्थ व्यवस्थामा देखिएको बदलाव अनुसार अघि बढने चतुर्याई सरकारमा भएन भने हामी कहीँ पुग्दैनाैं, तपाइँ (ठूला दल) हरु सकिँदा चिन्ताकाे विषय त्याे हाेइन, तपाइँहरु सकिँदा देश बर्बाद नहाेस्, हाम्राे अर्थतन्त्रले बाटाे नबिराओस् ।'
नीति तथा कार्यक्रमले मधेशसँग साैताकाे व्यवहार गरेकाे समेत उहाँले बताउनुभयाे । चुरेलाई पनि उपयाेगका नाममा दाेहन गरेर मधेशलाई मरुभूमिकरण गर्न खाेजिएकाे भन्दै सांसद् यादवले चुरे भनेकाे मधेशकाे मात्र नभएर देशकै लाइफलाइन भएकाे बताउनुभयाे ।
गृह मन्त्रालय नै शरणार्थी प्रकरणमा संलग्न भएपछि अरु के आशा गर्न सकिन्छ भन्ने प्रश्न समेत उहाँले गर्नुभयाे । नीति तथा कार्यक्रमले जनता र युवालाई नेपाल बनाउँछाैं हामी सुध्रियाैं भनेर सपना देखाउन र विश्वास जगाउन सक्नुपर्नेमा त्यसाे हुन नसकेकाे सांसद् यादवले बताउनुभयाे ।
विश्वासकाे खडेरी परेकाे भन्दै उहाँले जनताहरु नेता र दलप्रति निराश रहेकाे बताउनुभयाे ।
