काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद् भगवति न्याैपानेले सरकारले ल्याएको नीति कार्यक्रम प्लाष्टिकको फूल जस्तै भएको बताउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै सांसद् न्याैपानेले सरकारले प्लास्टिक फूललाई फूलबारीकाे हाे भनेर झुक्याउन खाेजेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'हिजाे यहाँ फूल र काँडाकाे चर्चा भएकाे थियाे, प्लाष्टिककाे राम्राे फूल देखाएर याे फूल फुलबारीमा फुलेकाे सुन्दर फूल हाे भनेर भन्न खोजिएको छ, हामी भन्छौं त्यो फूल फूलबारीमा फुलेको सुन्दर फूल होइन प्लाष्टिककै फूल हो, याे नीति तथा कार्यक्रम त्यस्तै छ ।'
सांसद् न्याैपानेले नीति तथा कार्यक्रम राम्रो कपडा लगाइदिएर सुन्दर बनाइ कपडा पसलमा देखाउन राखिएकाे डमीजस्ताे भएकाे समेत बताउनुभयाे । उहाँले भन्नुभयाे - 'कपडा पसलमा सजाउन राखेका डमीलाई राम्रो कपडा लगाइदिएर सुन्दर देखाइएको वस्तुलाई डमी भनिन्छ, त्यही डमी जस्तै राम्रो छ नीति तथा कार्यक्रम, जसको जीवन छैन, जसको प्राण छैन, त्यसैले यो नीति तथा कार्यक्रम डमी जस्तै छ ।'
नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि कुनैपनि पक्षलाई प्राथमिकता दिन नसकेकाे सांसद् न्याैपानेले बताउनुभयाे । प्रतिपक्षले नीति तथा कार्यक्रम सुधाराैं भन्दा सत्ता पक्षले भ्रम सृजना गरियाे भन्ने ठान्याे भने देश दुर्घटनामा पर्ने चेतावनी समेत उहाँले दिनुभयाे ।
देशकाे अर्थतन्त्र मन्दीमा पुगिसक्दा पनि सरकार गम्भीर नभएकाे भन्दै सांसद् न्याैपानेले नीति तथा कार्यक्रमले त्यसलाई सम्बाेधन गर्नुपर्नेमा त्यसाे हुन नसकेकाे बताउनुभयाे । गठबन्धन सरकार बनेपछि देशकाे अर्थतन्त्र ध्वस्त भएकाे उहाँले बताउनुभयाे ।
