काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले कालिकोटको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय राखेकाेमा आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पार्टीले चुनाव जितेको पालिकाले कक्षा ६ देखि ८ कक्षासम्म माओवादी जनयुद्धबारे विभिन्न अध्याय कोर्समा राखेकोमा आपत्ति जनाउनुभयाे ।
यस्ता खालका गतिविधि राेक्न माग गर्दै उहाँले भन्नुभयाे - 'कालिकाेटकाे पतालझरनामा जहाँ प्रधानमन्त्रीकाे पार्टीले चुनाव जितेकाे छ, त्यहाँ ६ देखि ८ कक्षासम्मकाे पाठ्यक्रममा सशस्त्र द्वन्द्व माओवादी जनयुद्धबारे सकारात्मक प्रभावबारे विभिन्न अध्याय काेर्सबुकमा राखिएकाे छ, याे काम कसैले नगराैं ।'
भाेलि अरु दलले पनि यस्तै खालका विषयमा पाठ्यपुस्तकमा राखे राम्राे नहुने समेत सांसद् पन्तले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'यो काम कसैले नगरुन्, माओवादीले जनयुद्धको, एमालेले झापा विद्रोहबारे, कांग्रेसले २०१८ सालको सशस्त्र संघर्षबारे, राप्रपाले पञ्चायत र राजतन्त्रबारे कोर्स बुकमा राख्न थाल्याे भने राम्रो हुँदैन ।'
गाउँपालिकाले तर्जुमा गरेको स्थानीय पाठ्यक्रम अनुसार 'हाम्रो पचालझरना' नामक पुस्तकमा १० वर्षे जनयुद्ध भनेर आठ वटा खण्ड राखिएकाे छ ।
