काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् मनिष झाले सदनमा भ्रष्टाचारको विषय उठाउँदा सरकारले जवाफ नदिएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् झाले भ्रष्टाचारका कुरा पटक-पटक उठाउँदा पनि सरकारले जवाफ दिनै नचाहेकाे बताउनुभयाे ।
नक्कली भुटानी शरणार्थीको विषयमा सुनियोजित केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरुले सबै प्रश्नहरुको जवाफ नदिने उहाँले बताउनुभयाे । 'नक्कली भुटानी शरणार्थीको विषयमा सुनियोजित केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरुले सबै प्रश्नहरुको जवाफ दिँदैनन्, त्यसले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस्, भ्रष्टाचारको कुरा पटक-पटक विभिन्न फोरममा उठाउँछौं, सबैभन्दा बढी सदनमा उठाउँछौं, तर जवाफ आउँदैन, सरकार पक्षले जवाफ दिँदैन'- सांसद् झाले भन्नुभयाे ।
जनकपुरकाे जानकी मन्दिरकाे टायल र त्यहाँ बिजुली बत्ती जडानमा भएकाे भ्रष्टाचारबारे ४ पटक सदनमा कुरा उठाउँदा पनि सम्बाेधन नभएकाे भन्दै उहाँले सरकारकाे जवाफ पाउन अनशन नै बस्नुपर्ने हाे भन्दै प्रश्न उठाउनुभयाे । 'सत्ता पक्षकै सांसद् अनसनमा बस्नुपर्ने बाध्यता अवस्थामा के हामीलाई पनि त्यही सन्देश दिन खोजेको हो सरकारले ? कि गएर अनसन बस अनि जवाफ पाउँछौं, त्यसो हो भने हामी तयार छौं'- सांसद्ले भन्नुभयाे ।
