काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकार र सत्तारुढ दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रम माथि छलफल नै गर्न नचाहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले नीति कार्यक्रम माथिको छलफलमा सत्ता पक्षले सुन्ने धार्यता नराखेको बताउनुभयो । ‘सत्ता पक्ष आफ्नो कमजोरी लुकाउनको निम्ति प्रतिपक्षको तेजोवध गर्ने र तीव्र प्रतिवादमा उत्रिने उल्टो बाटो समातेर हिँडेको देखियो’, बास्कोटाले भन्नुभयो ।
प्रतिनिधि सभामा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम माथि सुझाव दिँदा सत्ता पक्षका संसद्ले हेडमास्टर भनेको प्रति एमालेको कुनै आपत्ति नरहेको बास्कोटाले बताउनुभयो । नेकपा एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तन, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्व विद्यालय भएको बास्कोटाले दाबी गर्नुभयो । ‘त्यसैले तपाईँहरूले दिएको उपाधि हामीलाई पुग्दैन, केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर डाक्टर हो, इन्जिनियर हो, आर्किटेक्चर हो, सबै हो’, बास्कोटाले भन्नुभयो ।
बास्कोटाले सत्तापक्षले कम्तीमा केपी ओलीबाट सिक्न पाएको बताउनुभयो । ‘त्यसलाई ग्रहण गरेर सुल्टो बाटो हिँड्न उहाँले सुझाव दिनुभयो । तथ्यको खडेरी परेपछि यस्तो गरिन्छ’, बास्कोटाले भन्नुभयो ।
बास्कोटाले कांग्रेसको आर्थिक नीति र माओवादीको कथित जनयुद्धको फ्युजनले कन्फ्युजन बनाएको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम अमूर्त दस्ताबेज भएको उहाँको भनाइ छ ।
बास्कोटाले डा. बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल उर्फ प्रचण्डसम्म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया किन नटुङ्ग्याएको भन्दै प्रश्न गर्नुभयो ? मरिसक्नु भएका गिरिजाप्रसाद कोइरालालाई देखाएर एक्लो संवाद नअलाप्न उहाँले प्रचण्डलाई आग्रह गर्नुभयो ।
मान्छेले जनयुद्ध गर्ने ठिक भएको बताउँदै बास्कोटाले चार वर्षको बालकलाई मान्छेले मारेको कि मान्छे जस्तै देखिने जल्लाद गुरिल्लाले मारेको भन्दै प्रश्न गर्नुभयो । उहाँले यानप्रसाद गौतम, अर्जुन लामा र मुक्तिनाथ अधिकारीको विषयमा पनि जवाफ दिन आग्रह गर्नुभयो ।
महिला नेतृत्व स्थापित गर्ने भन्ने सत्ता गठबन्धनलाई गएको स्थानीय निर्वाचनमा मिलिमिली महिलालाई उम्मेदवार नै नउठाएको नबिर्सन आग्रह गर्नुभयो । उहाँले सोझै ३३ प्रतिशत महिलालाई चुनाव लडाउने कानुन बनाउने बहसमा आउन चुनौती दिनुभयो ।
