काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले सरकारले नचाहेसम्म फुलिस्टप र कममा पनि परिवर्तन नहुने दस्ताबेज माथिको छलफल केवल कर्मकाण्ड मात्र भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै वाग्लेले राष्ट्रिय प्रजातन्त्र पार्टी रचनात्मक प्रतिपक्ष भएको कुरा स्मरण गराउनुभयो । ‘यो परम्परालाई धान्न ल्याइएको दस्ताबेज हो, परम्परा पनि धानेको छ’, उहाँले भन्नुभयो ।
यो कर्मकाण्डलाई परिवर्तन गर्ने हो भने नीति कार्यक्रमबाट बजेटको सत्र सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । अन्यथा नीति तथा कार्यक्रम कालो अक्षरको थुप्रो मात्रै हुने उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले पूर्वाधारको मोडलमा पनि पुनर्विचार गर्नुपर्ने बताउनुभयो । पूर्व तयारी र लागतको विषयमा नयाँ सिराबाट छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । दोहनकारी राज्य नीतिलाई तोड्न सृजनशील भएर जानु पर्नेमा उहाँले जोड दिनुभयो । नीति, नियत र क्षमतालाई टेकेर बजेट आओस् भन्ने उहाँले सुझाव दिनुभयो ।
