काठमाडौं । प्रतिनिधि सभा सदस्य पृथ्वी सुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको साझा समस्यामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै गुरुङले साझा समस्यालाई सम्बोधन गर्ने ठोस नीति आउनु पर्नेमा त्यो आउन नसकेको बताउनुभयो । देशको अहिलेको प्रमुख समस्या पुँजीगत खर्च हुन नसक्नु भएको बताउँदै गुरुङले त्यसलाई सम्बोधन गर्ने ठोस नीति नआएको बताउनुभयो । त्यस्तै सुशासन प्रवर्धनको ठोस नीति पनि सरकारको नीति तथा कार्यक्रममा नआएको गुरुङले बताउनुभयो ।
अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने तथा संघीयता कार्यान्वयनको पक्षमा नीति तथा कार्यक्रम बोल्न नसकेको उहाँले बताउनुभयो । नीति कार्यक्रम कुन बाटोमा देशलाई लैजाने भन्ने विषयमा नै अस्पष्ट रहेको उहाँले बताउनुभयो ।
समाजवादमा पुग्ने कुरा गरे पनि सकरकाले लिएको नीति भने दलाल पुँजीवादीको पक्षमा रहेको गुरुङले बताउनुभयो । ‘दलाल पुँजीवादको बुई चढेर समाजवादमा पुग्न सकिँदैन’, उहाँले भन्नुभयो ।
कालो धनलाई अन्त्य गर्ने नीति सरकारको नीति तथा कार्यक्रममा आउन नसकेको उहाँले बताउनुभयो । अहिले पनि दलाल पुँजीपतिले समानान्तर बजेट चलाइरहेको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । अब दलाल पुँजीवादको बाटो होइन राष्ट्रिय पुँजीवादको बाटो तर्फ देश अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
