काठमाडाैं । नेकपा एमालेकी सांसद् सररस्वती सुब्बाले भूमिहीन सुकुम्बासीका सम्बन्धमा स्पष्ट नीति ल्याउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् सुब्बाले सरकारकाे नीति तथा कार्यक्रममा भूमि आयाेगलाई सक्रिय बनाइनेछ लेखिएकाे तर भूमिहीन सुकुम्बासी सम्बन्धमा के गर्ने भन्ने स्पष्ट नीति नराखिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
उहाँले भन्नुभयाे - 'नीति तथा कार्यक्रमकाे ५१ नम्बर बुँदा राष्ट्रिय भूमि आयाेगकाे कामलाई तिब्रता दिइनेछ, यसकाे मतलब अहिले राष्ट्रिय भूमि आयाेग मैदानमा फुटबल खेल्दैछ ? हाेइन भने भूमि आयाेग बनेकाे र काम गर्न थालेकाे १५ महिना भयाे, ७७ जिल्लामा जिल्ला समिति छ केन्द्रमा जम्बाे टिम छ, तर नीति तथा कार्यक्रममा पुन: भूमि आयाेगलाई सक्रिय बनाउने लेखिएकाे छ ।'
सांसद् सुब्बाले आगामी बजेटमा भूमिहीन सुकुम्बासीलाई कति जमिन दिने लगायत स्पष्ट व्यवस्था गर्न सरकारसँग माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'म सभामुखमार्फत सम्बन्धित विषयगत मन्त्रालयकाे ध्यानाकर्षण गर्न चाहान्छु भूमिहीन सुकुम्बासीलाई कति जमिन दिने, कतिकाे जग्गा नापजाँच गर्ने र कतिलाई भूमिसहितकाे न्याय दिने भन्ने कुराकाे स्पष्ट नीति चाहिन्छ त्यसकारण बजेटमा यसकाे व्यवस्था गर्न माग गर्छु ।'
