काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणकाे निष्पक्ष छानबिन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै सांसद् थापाले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि छुट्न नहुने बताउनुभयाे ।
याे प्रकरण राज्यविरुद्धको अपराध भएकाे भन्दै उहाँले यस प्रकरणमा नाम आएका सबैकाे अनुसन्धान गरेर दाेषीलाई कारबाहीकाे दायरामा ल्याउनुपर्ने बताउनुभयाे । यस प्रकरणमा जाेडिएर आएका नाम देख्दा लाज पनि लजाएकाे भन्दै सांसद् थापाले यस प्रकरणमा नेता र नाता जाे भएपनि छुट्न नहुने बताउनुभयाे ।
'अनुसन्धान कसरी भइरहेको छ, सबै जनाले हेरिरहेका छन्, चाहे त्याे सलाम गर्ने मान्छे हाेस्, चाहे त्याे सलामी लिने मान्छे हाे, जसलाई छाेएकाे छ जसकाे नाम आएकाे छ त्यसकाे फेयर अनुसन्धान हुनुपर्छ, अनुसन्धान भएन मैले गरिन् भन्ने कुराले यसबाट कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन, याे राज्यविरुद्धकाे अपराधमा संलग्न भएकाे एक-एक मान्छे, चाहे त्याे घरकाे होस्, बार्दलीको होस्, नेता होस्, नाता होस्, एक जना पनि छुट्न हुँदैन, दूधकाे दूध पानीकाे पानी हुनुपर्छ'- उहाँले भन्नुभयाे ।
सरकारले गरेको अनुसन्धान फेयर हुनुपर्ने भन्दै उहाँले फेयर अनुसन्धान नभए सरकारमाथि नै प्रश्न उठ्ने बताउनुभयाे । याे प्रकरणमा सरकारकाे परीक्षा भइरहेकाे भन्दै सांसद् थापाले यसलाई निष्कर्ष पुर्याउनुपर्ने बताउनुभयाे ।
सरकारपछि न्यायालयले पनि न्यायकाे अनुभूति हुनेगरी यसलाई टुंग्याउनुपर्ने बताउनुभयाे ।
