काठमाडाैं । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीले भेण्टिलेटरमा पुगेर पनि साैभाग्यले बाँचेर आएकाे बताउनुभएकाे छ ।
३ महिनापछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएका सांसद् भण्डारीले जलनबाट गम्भीर घाइते भई भेण्टिलेटरमा पुगेर पनि आफू बाँचेर आएकाे बताउनुभयाे ।
उपचार गरेर, सहयाेग गरेर सदनमा बाेल्न सक्ने अवस्थामा ल्याउने डाक्टर सरकार लगायत सबैलाई उहाँले आभार व्यक्त गर्नुभयाे । 'मलाई त्यहाँ (भारत) डाक्टरहरुले भन्नुभयाे, विगतकाे ३ वर्षमा ३ जना मानिसहरु मात्रै भेण्टिलेटरमा गएर पनि बाँचेकाे रहेछ, त्यसमध्ये म एउटा नेपाली साैभाग्यले बाँचेर आएर बाेल्दैछु'- सांसद् भण्डारीले बताउनुभयाे ।
गत फागुन ४ गते राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका भण्डारीमा भारतमा उपचार गराएर केही दिनअघिमात्र नेपाल फर्किनुभएकाे थियाे । उहाँकाे उपचार अहिले पनि जारी छ । आगलागीमा परेर गम्भीर घाइते हुनुभएकी उहाँकी आमा हरिकलाकाे भने फागुन ५ गते नै कीर्तिपुर अस्पतालमा निधन भएकाे थियाे । साे घटनापछि सांसद् भण्डारी बुधबार प्रतिनिधि सभा बैठकमा पहिलाे पटक उपस्थित हुनुभएकाे हाे ।
अरु देशमा भन्दा नेपालका डाक्टर कम नभएका भन्दै उहाँले देशमा जलनका लागि राम्राे सुविधासम्पन्न अस्पताल आवश्यक रहेकाे बताउनुभयाे । सांसद् भण्डारीले भन्नुभयाे - 'हामीले एउटा हस्पिटल बनायाैं भने एसियाकाे सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ, क्लाइमेटकाे हिसाबले पनि खर्चकाे हिसाबले पनि, मैले प्रधानमन्त्रीलाई अनुराेध गर्न चाहेँ ।'
जलनमा परेर अघिल्लो वर्ष १ सय १० र यो वर्ष आफ्नो आमासहित १ सय ११ जनाको ज्यान गएको भन्दै उहाँले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउनभुयाे । जलनकाे केसमा धेरैजसाे गरिबहरु प्रभावित भएका देखिएकाे भन्दै सांसद् भण्डारीले उनीहरूलाई पनि क्यान्सर, मुटु र किड्नी रोगीलाई जस्तै राज्यले आर्थिक सहायता उपलब्ध गराउनुपर्ने बताउनुभयाे ।
सरकारले दिने सहयाेग अस्पताल निर्माणमा प्रयाेग गर्न आग्रह गर्दै उहाँले भन्नुभयाे - 'मलाई देशभरका साथीले सहयाेग गर्नुभयाे, म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ, मुम्बईमा ७ दिनपछि म ब्यूँझिएँ, ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।'
जलनमा धेरै दर्द लुकेकाे भन्दै उहाँले अहिले नेपालमा भइरहेका कीर्तिपुर र सुष्मा अस्पतालकाे भवन तत्काल बनाउन आवश्यक रहेकाे बताउनुभयाे । बिजुली बाल्दा, ग्यास बाल्दा र बाटाे काट्दा के गर्ने भन्ने कुरा विद्यालय शिक्षाकाे पाठ्यक्रममै राख्न सांसद् भण्डारीले सरकारसँग माग गर्नुभयाे ।
बजारमा स्वचालित रेगुलेटर आइसकेकाे भन्दै उहाँले याे रेगुलेटर सबैकाे घरमा राख्ने व्यवस्थाका लागि कानुनी व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभयाे ।
देशमा डाक्टर, इञ्जिनियर टिक्ने अवस्था बनाउन पहिला याे मुलुक मेराे हाे भन्ने अनुभूति गराउनुपर्ने बताउनुभयाे ।
