काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि छानबिन गर्न माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै सभापति लामिछानेले नाम जोडिएकाहरूलाई एक पटक बयानका लागि नबोलाएर सरकारले अविश्वासको वातावरण सिर्जना गर्न खाेजेकाे बताउनुभयाे ।
आरजु राणा र मञ्जु खाँडतर्फ लक्षित गर्दै उहाँले यो प्रकरण सार्वजनिक भएपछि प्रतिनिधि सभाकै केही सांसद् गायब भएको र केहीले मिडयामा कसम खाएको समेत बताउनुभयाे । लामिछानेले भन्नुभयाे - 'यस प्रकरणमा बालुवाटाभित्र, सिंहदरबारभित्र र मन्त्री क्वाटरभित्र पैसा बुझाएकाे जस्ता विवरण आइरहेका छन्, म कसैले आराेप लगाएकै भरमा कसैलाई दाेषी भन्न गइरहेकाे छैन, कम्तिमा राज्यले छानबिन गर्न सक्छ, विश्वासकाे वातावरण सृजना गर्न सक्छ, नाम आएका मान्छेहरु देखिनुहुन्छ, काेही बेपत्ता भयाे भन्ने थाहा हुन्छ, बेपत्ता भएकाे केही समयपछि सामसुम हुन्छ, बयान लिने काम सकिन्छ, त्यसपछि काेही संसद्मा प्रकट हुनुहुन्छ, काेही तामातुल्सी छाेएर कसम खाएर प्रकट हुनुहुन्छ ।'
नाम लिएका सर्वसाधारणका हकमा पनि यही नियम लागू हुन्छ ? भन्ने प्रश्न गर्दै उहाँले यस्ता गम्भीर विषयमा नाम आएपछि एकपटक छानबिन हुनैपर्ने र प्रहरी प्रशासनले यसमा कदम चाल्नुपर्ने बताउनुभयाे । यस प्रकरणमा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डकाे भूमिकाप्रति आशंका व्यक्त गर्दै उहाँले मुटु नकमाउन र निष्पक्ष छानबिन गर्न सुझाव दिनुभयाे । 'उहाँहरूलाई बरु प्रहरीसम्म रेड कार्पेट ओछ्याइदिनुस् हिलाे लाग्छ भने तर बयान लिनुस्, नेपाली जनतालाई विश्वास गर्ने वातावरण सृजना गर्नुस्, यसमा सरकारले मुटु कमाएजस्ताे लागेकाे छ, प्रधानमन्त्रीजी, तपाइँले मुटु कमाउँदिनँ भन्नुभएको छ, अब म तपाइँको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्, काम्दैन भनेको तपाईँको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ'- लामिछानेले भन्नुभयाे ।
जस्ता-जस्ता मान्छेकाे नाम क्रमश: आउँदैछ एकपटक बयानका लागि पनि नबाेलाउनु भनेकाे अविश्वासकाे वातावरण सृजना गर्नु भएकाे भन्दै उहाँले देशकै बेइज्जत गरेकाे यस प्रकरणलाई सामसुम र थामथुप नपार्न सरकारलाई चेतावनी दिनुभयाे । 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला, तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाइँहरूले खासखुस गर्नुभयाे भनेर हामीले भनेका थियाैं, त्यसको गन्ध संसद्सम्म ठासठुस आयो, देशभरि त्यसको गन्ध गयो, याे गन्ध रोक्नुस्, म आउँछु बयान दिन भनेकाे मान्छेलाई न्युजरुमभित्र बुट बजार्दै समातेर मध्यरातमा लिएर जानुभयाे, अरुकाे हकमा किन त्यस्ताे हुँदैन ? बराबर हुनुपर्छ' - लामिछानेले भन्नुभयाे ।
न्यायिक प्रक्रियामा उच्च पदस्थ हाेस वा या अरु सबैले सहयाेग गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'यसमा हाइप्राेफाइल हुँदैन फाइल हुन्छ, कसैले कसैकाे नाम आउने, त्यसकाे नाम आयाे भने अर्काेकाे नाम आउने अनि कसैलाई पनि छानबिनमा नल्याउने कालेकाले मिलेर खाउँ भाले भएकाे हाे कि, यस्ताे हाे भने हामी चुप लागेर बस्दैनाैं, नेपाली जनता चुप लागेर बस्दैनन् ।'
