काठमाडौं । संघीय संसद्काे संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० स्वीकृत भएकाे छ ।
बुधबार बसेको संघीय संसद्काे दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे ।
बैठकमा समितिका सभापति ध्रुवबहादुर प्रधानले साे प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्यसपछि सभामुख घिमिरेले साे प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयाे ।
यसमा संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ । सभामुख घिमिरेले संशोधनको सूचना दिन चाहाने सांसद्ले ७२ घण्टाभित्र विधेयक शाखा प्रतिनिधि सभा सिंहदरबारमा दिन सक्नुहुने बताउनुभयाे ।
प्रतिवेदनको सैद्धान्तिक छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल र रास्वपा सांसद् सुमना श्रेष्ठले भाग लिनुभएकाे थियाे । संघीय संसदको दुवै सदनको संयुक्त बैठक जेठ १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
