काठमाडाैं । नेकपा एमालेकी सांसद् विद्या भट्टराईले काठमाडौंमा तत्काल व्यवस्थित र सुविधा सम्पन्न पर्यटक बसपार्क बनाउन सकारसँग माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् भट्टराईले देशको राजधानी काठमाडौंमा पर्यटक बसपार्क नबन्दा अन्य पर्यटकीय ठाउँमा जाने पर्यटकलाई समस्या भएकाे बताउनुभयाे ।
सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रूपमा मनाउने योजना अनुरूप नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेपनि त्यस किसिमकाे तयारी नथालेकाे उहाँले बताउनुभयाे । नेपाल घुम्न आउने पर्यटककाे सहजताका लागि तत्काल पर्यटक बसपार्क आवश्यक भएकाे सांसद् भट्टराईले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौंको सोह्रखुट्टे सडकबाटै बस छुट्न बाध्य छन्, नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यमा जानका लागि पर्यटकहरू असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ, काठमाडौंबाट नेपालका प्रमुख पर्यटकीय शहरहरू पोखरा, चितवन, लुम्बिनी, जनकपुर लगायत गन्तव्यमा पर्यटकीय बसहरूले सेवा दिइरहेका छन्, तर सबै बस व्यवसायी सडकबाटै पर्यटक बोक्न बाध्य छन्, त्यसैले काठमाडौंमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिष्ट बसपार्क निर्माण गर्न आवश्यक छ, यसका लागि सम्माननीय सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गर्दछु ।'
