काठमाडाैं । नेकपा एमालेका सचिव एवं सांसद् योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्ण रुपमा सहयोग गर्ने बताउनुभएको छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानबिन गर्न एमालेलाई सरकारलाई भनिसकेको स्मरण गराउनुभयाे ।
उहाँले भन्नुभयाे - 'हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले प्रस्ताव पास गरेरहाम्रै पार्टीका पनि जोसुकै नेता परुन्, त्यसमा हामी छानबिनका लागि सहयोग गर्न तयार छौं, हाम्रो पार्टीसँग जोडिएका हुन्, हाम्रो पार्टीका नेताहरूसँग जोडिएका हुन्, जोसुकै भए पनि यदि प्रहरीले उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकाल्यो भने उनीहरूले गएर प्रहरीलाई छानबिनका लागि सहयोग गर्नुपर्छ भनेकाे छ ।'
कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै सांसद् भट्टराईले आफ्नो नाम परेपनि बयानका लागि जाने बताउनुभयो । 'यदि मेरो नाम कसैले लिएका छन् र त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाई प्रहरीले बोलाउनु पर्दैन, म आफैं प्रहरीकोमा बयान दिन जान्छु'- उहाँकाे भनाइ छ ।
कानुन भन्दा माथि कोही पनि नहुने सांसद् भट्टराईले बताउनुभयाे ।
