काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८०-०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुने सम्भावित कार्यसूची छ ।
राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा जेठ ५ गते प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जेठ ७, ८, ९ र १० गते छलफल भएकाे थियाे । आज पनि छलफल जारी रहनेछ र छलफल सकिएपछि मात्र प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ ।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि २० जना सांसद्ले संशाेधन प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्रीकाे सम्बाेधनपछि सभामुख घिमिरेले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सभामुख घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।
राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिकाे छलफल सकिएर प्रधानमन्त्रीले जवाफ पनि दिइसक्नुभएकाे छ । राष्ट्रिय सभाबाट भने नीति तथा कार्यक्रम पारित भइसकेकाे छ ।
