काठमाडौं । प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङले सत्ता पक्षका सांसद प्रतिनिधि सभा बैठकमा गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएका भन्दै आलोचना गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठक बोल्दै नेम्वाङले सत्तारुढ दल माओवादी केन्द्रबाट निर्वाचित सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको भनेर तामाको जलारी राखेको भन्ने अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउनुभयो । ‘आफू सरकार चलाइ रहनुभएको छ, सम्पूर्ण डाडु पन्युँ आफ्नो हातमा छ, कानुनको विपरीत भएका कामकारबाहीमा कारबाही गर्ने अधिकार छ, सरकार जसलाई सबै कुरा थाहा छ, थाहा पाउने ठाउँमा हुनुहुन्छ उहाँ, त्यो सत्ता पक्षसँग सम्बन्धित सांसदले रोष्टममा उभिएर प्रमुख प्रतिपक्षी माथि यस्तो आरोप लगाएर’, उहाँले भन्नुभयो ।
सो आरोप अति गम्भीर भएको उहाँले बताउनुभयो । प्रतिपक्षी दलको नेता माथि यति ठुलो आरोप लाग्नु चानचुने नभएको उहाँले बताउनुभयो । संसारले मान्ने पशुपतिनाथमा चढाएको जलारी माथि भ्रष्टाचार गर्यो भन्ने आरोप सामान्य नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘यति गम्भीर प्रश्न उठेपछि, यो आरोप टाउकोमा बोकेर हामी कसरी प्रक्रियामा भाग लिन सक्छौँ’, उहाँले भन्नुभयो ।
सो विषयलाई राफसाफ नगरेसम्म प्रतिनिधि सभाको कारबाही अघि बढ्न नसक्ने उहाँले बताउनुभयो । तामाको जलारी चढाएको हो भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली माथि कारबाही हुनु पर्ने र नभए त्यस्तो आरोप लगाउने सांसद् सजायको भागीदार हुनु पर्ने नेम्वाङले माग गर्नुभयो ।
एमालेका संसद्हरूले विरोध जनाए पछि माओवादीको तर्फबाट हितमान शाक्यले बोल्न खोज्नु भएको थियो । उहाँले बोल्न लाग्दा एमालेका सांसदहरूले विरोध जनाउनुभयो । शाक्यले बोल्न लागेपछि एमाले सांसदहरू अगाडि गएर विरोध जनाउनुभएको थियो । एमाले सांसदले अगाडि गएर नारा सहित विरोध जनाएपछि सभामुखले २० मिनेटको लागि बैठक रोक्नु भएको छ ।
