काठमाडौं । प्रतिनिधि सभामा सत्ता पक्षका सांसदहरूले निराधार आरोप लगाउन लागेपछि नेकपा एमाले प्रतिरोधमा उत्रिएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिरोधमा उत्रिएपछि प्रतिनिधि सभा बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकी २० मिनेटको लागि स्थगित भएको छ । बिहान ११ बजे सुरु हुने भनिएको बैठक डेढ घण्टा भन्दा पनि ढिलो गरी सुरु भएको थियो । तर विषय बस्तुमा नै प्रवेश नगरी बैठक पुनः स्थगित भयो ।
बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यस पछि सभामुखले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिनुभएको थियो ।
गिरीले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको जलारी भनि तामाको जलारी चढाएर भ्रष्टाचार गरेको भनी माओवादीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले लगाएको आरोप प्रति आपत्ति जनाउनुभयो । उहाँले त्यो आरोप प्रमाणित गर्न वा दाहाललाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो । दाहालले सो विषयमा प्रतिनिधि सभामा माफी माग्नु पर्ने र उहाँले बोलेको कुरा रेकर्डबाट हटाउनु पर्ने गिरीले माग गर्नुभयो ।
गिरीले भनाई राखेपछि सो विषयमा ध्यानाकर्षण भएकोले बैठक अघि बढाउनको लागि सहयोग गर्न सभामुखले अनुरोध गर्नुभयो । सभामुखको आग्रहलाई एमाले सांसदहरूले स्विकारेनन् । उनीहरूले नाराबाजी सुरु गरे ।
नाराबाजीकै बिचमा सभामुखले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बोल्ने समय दिनुभयो । नेम्वाङले सत्तारुढ दल माओवादी केन्द्रबाट निर्वाचित सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप चानचुने नभएको बताउनुभयो । सो आरोप अति गम्भीर भएकोले त्यसको छिनोफानो नभएसम्म बैठक अघि नबढ्ने उहाँले बताउनुभयो ।
एमालेका सांसदहरूले लगातार विरोध जनाए पछि माओवादीको तर्फबाट हितमान शाक्यले बोल्न खोज्नु भएको । तर एमाले सांसदहरूको विरोध रोकिएन । विरोधका बिचमा नै शाक्यले संसद्मा सबै कुरा उठान र छलफल गर्न मिल्ने बताउनुभयो ।
त्यसबाट एमाले सांसदहरू थप आक्रोशित भए र रोष्टम अगाडि गएर नारा सहित विरोध जनाए । पटक पटक आसन लिनको लागि सभामुखले गर्नुभएको अनुरोध एमाले सांसदले सुनेनन् । त्यस पछि सभामुखले २० मिनेटको लागि बैठक रोक्नु भएको छ ।
