काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ ।
आज साँझ ६ बजे बस्ने भनिएकाे बैठक भाेलि अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएकाे हाे । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधका कारण राेकिएकाे बैठक सञ्चालन गर्ने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर स्थगित गरिएकाे हाे ।
शुक्रबार बिहान बैठक सुरु हुनासाथ एमालेले बैठक अवरुद्ध गरेकाे थियाे । त्यसपछि २० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजे बस्ने सूचना टाँस गरिएकाे थियाे ।
तर प्रतिपक्षी र सत्तापक्षबीच कुरा नमिलेपछि फेरि साँझ ६ बजेका लागि बैठक सारिएकाे सूचना टाँसियाे । बैठक सञ्चालनमा सहमति नजुटेपछि ६ बजेका लागि बाेलाइएकाे बैठक फेरि भाेलि बस्नेगरी स्थगित गरिएकाे हाे ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा माओवादीका सांसद् लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको गम्भीर आराेप लगाउनुभएकाे थियाे ।
त्यसकाे विराेधमा एमालेले आजकाे बैठक अवरुद्ध गरेकाे हाे । एमाले यस विषयमा सदनलाई जवाफ दिन सरकारसँग माग गरेकाे छ भने दाहालकाे अभिव्यक्ति रेकर्डबाट हटाउन भनेकाे छ ।
