काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ । यसअघि शुक्रबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएकाे थियाे ।
२० मिनेटका लागि स्थगित भएकाे बैठक दिउँसाे ३ बजे बस्ने सूचना जारी गरियाे । साे समयमा पनि बस्न नसकेपछि फेरि साँझ ६ बजे बस्ने सूचना संसद् सचिवालयले जारी गर्याे । तर प्रतिपक्ष र सत्तापक्षबीच सहमति हुन नसकेपछि शनिबार अपरान्ह ४ बजे भन्दै सूचना टाँस गरेर स्थगित गरिएकाे थियाे ।
जेठ १० गते बसेकाे प्रतिनिधि सभा बैठकमा माओवादीका सांसद् लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको गम्भीर आराेप लगाउनुभएकाे थियाे । त्यसकाे विराेधमा एमालेले शुक्रबारकाे बैठक अवरुद्ध गरेकाे हाे । एमाले यस विषयमा सदनलाई जवाफ दिन सरकारसँग माग गरेकाे छ भने दाहालकाे अभिव्यक्ति रेकर्डबाट हटाउन भनेकाे छ ।
आजकाे बैठकमा आर्थिक वर्ष २०८०-०८१ को सरकारको नीति तथा कार्यक्रममाथिकाे छलफल जारी रहनेछ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा जेठ ५ गते प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जेठ ७, ८, ९ र १० गते छलफल भएकाे थियाे । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि २० जना सांसद्ले संशाेधन प्रस्ताव पेस गरेका छन् ।
छलफल सकिएलगत्तै नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएका प्रश्नकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नै जवाफ दिनुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्रीकाे जवाफपछि सभामुख घिमिरेले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सभामुख घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।
राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिकाे छलफल सकिएर प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएकाे छ । राष्ट्रिय सभाबाट सरकारकाे नीति तथा कार्यक्रम पारित पनि भइसकेकाे छ ।
