काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताउनुभएकाे छ ।
शनिबार प्रतिनिधि सभा बैठककाे कामकारबाही सुरु हुनासाथ एमाले सांसद्ले उठेर विराेध जनाएका थिए । त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई बाेल्न समय दिनुभएकाे थियाे ।
यस विषयबारे स्पष्टिकरण दिँदै प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथकाे जलहरी लगायत विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास काेषकाे भएकाे बताउनुभयाे । आफ्नै पार्टी माओवादी केन्द्रका सांसद् लेखनाथ दाहाल राजनले दिएकाे अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले शनिबार सदनमा स्पष्टिकरण दिनुभएकाे हाे ।
'पशुपति विकास काेषसँग सम्बन्धित जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी नेतालाई सम्मानित सदनमा विचार व्यक्त हुनु उचित हाेइन यस्ता विषय संसद्काे रेकर्डबाट हटाउने प्रचलन पनि छ'- उहाँले भन्नुभयाे । जलहरीका केही विषयबारे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा निवेदन परी छानबिन भइरहेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले यसमा अख्तियारले स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने विश्वास व्यक्त गर्नुभयाे । यस विषयकाे छानबिनका लागि सरकारले अख्तियारलाई पूर्ण रुपमा सहयाेग गर्ने पनि उहाँले बताउनुभयाे ।
माओवादीका सांसद् वैशाख १० गतेकाे प्रतिनिधि सभा बैठकमा केपी शर्मा ओली नेतृत्वकाे एमाले सरकारले पशुपतिकाे जलहरीमा सुन नभएर पित्तल राखेकाे गम्भीर आराेप लगाउनुभएकाे थियाे ।
साेही विषयलाई लिएर एमालेले शुक्रबार प्रतिनिधि सभा बैठक अवरुद्ध गरेकाे थियाे । एमालेले यस विषयमा सरकारले सदनलाई जवाफ दिनुपर्ने, आधारहीन र तथ्यहीन आराेप लगाउने दाहालले माफी माग्नुपर्ने र दाहालकाे अभिव्यक्ति संसद्काे रेकर्डबाट हटाउनुपर्ने माग गरेकाे थियाे । यी माग सम्बाेधन नभएसम्म सदन चल्न नदिइने एमालेकाे अडान थियाे ।
