काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीको विषय पशुपति विकास कोषको विषय भएको बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले सो विषयमा अख्तियार अनुसन्धान अयोगमा उजुरी परेकोले आयोगले निष्पक्ष छानबिन गर्ने दाहालले बताउनुभयो । ‘यसमा सरकारको सहयोग रहने छ’, दाहालले भन्नुभयो ।
पशुपति विकास कोषसँग सम्बन्धित विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित नभएको दाहाले बताउनुभयो । त्यस प्रति दाहाले माफी माग्नु भएको छ । ‘यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ’, उहाँले भन्नुभयो ।
प्रतिनिधि सभै बैठकका माओवादीबाट निर्वाचित सांसद लेखनाथ दाहाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु भएको थियो । त्यसमा प्रमुख प्रतिपक्षीले विरोध जनाउँदै प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो ।
प्रधानमन्त्रीले सो विषयमा स्पष्टीकरण दिएपछि सभामुख देवराज घिमिरेले दाहालले बोलेको विषय प्रतिनिधि सभाको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । सभामुखको सो निर्देशन पछि प्रतिनिधि सभा बैठक सुचारु भएको छ ।
