काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् विश्वप्रकाश शर्माले २००७ सालदेखिका भ्रष्टाचारको फाइल खाेल्नुपर्ने बताउनुभएकाे छ ।
शनिबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रमाथिकाे छलफलमा भाग लिँदै महामन्त्री शर्माले २००७ सालदेखिका भ्रष्टाचारको फाइल खाेल्नुपर्ने बताउनुभयाे । 'याे बेलामा हामी ठिक ठाउँमा उभिएका छाैं, फाइल खाेलाैं, आवेगले हाेइन जिम्मेवार ढंगले २००७ सालदेखिकै फाइल खाेलाैं, एउटा ठिक-ठिक ढंगले कारबाहीकाे सन्दर्भमा कुनै माेलाहिजा नराखिकन यसलाई सम्बाेधन गराैं'- उहाँले भन्नुभयाे ।
सरकारले भ्रष्टाचारकाे फाइल खाेलेकाे भन्दै सांसद् शर्माले सरकार भन्दा बाहिर रहेकाे दलले पनि सरकारलाई समर्थन गर्ने समय भएकाे बताउनुभयाे । अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्नेगरी कसैले अभिव्यक्ति दिन नहुने उहाँले बताउनुभयाे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै सांसद् शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले छानबिन गरिरहेकाले काेही न्यायाधीश बन्न नहुने बताउनुभयाे । 'केपी शर्मा अोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने प्रयास भइरहेको छ भन्नुभयो, को दोषी को निर्दोष नेपाल प्रहरीले छानबिन गर्दैछ, यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं, कि अमुक कोही दोषी हुनुहुन्न निर्दोष हुनुहुन्छ, उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्ति राखिने कुरामा विमति प्रकट गर्दछु'- उहाँले भन्नुभयाे ।
आफूहरूले भ्रष्टाचार मुछिएका कांग्रेसका नेताहरूको पक्षमा कहिल्यै पनि नबोल्ने दाबी पनि शर्माले गर्नुभयाे ।
नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने भन्दै सांसद् शर्माले नीति तथा कार्यक्रममा कैयाैं कमजाेरी रहेका बताउनुभयाे । बजेटमा यसलाई परिमार्जन गरेर जान उहाँले सुझाव दिनुभयाे ।
