काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम माथि तीन वटा विचार आएको बताउनुभएको छ ।
सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको शनिबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै दाहालले एउटा विचार– नीति कार्यक्रम पुनर्लेखन गर्नुपर्ने, अर्को त्यसमा संशोधन गर्नु पर्न र अर्को त्यसमा केही कुरा थप्न सके राम्रो भन्ने आएका बताउनुभयो । सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम परम्परागत नै हुन्छ भन्ने मान्यतामा आफू पनि सहमत रहेको उहाँले बताउनुभयो ।
देशको समस्यालाई मूर्त रूपले सम्बोधन गर्ने छोटो नीति तथा कार्यक्रम बनाउने आफ्नो चाहन भए पनि त्यो गर्न नसकेको उहाँले बताउनुभयो । ‘अन्ततः सम्झौताको माध्यबाट अघि बढ्नु पर्ने बाध्यता मैले महसुस गरेँ’, उहाँले भन्नुभयो ।
आफूले ल्याएको नीति तथा कार्यक्रम परम्परागत नै भएकोले यस अघि नीति तथा कार्यक्रम ल्याउने दलले हामीले ल्याएकै जस्तो आयो भनेर समर्थन गर्नु पर्ने उहाँले बताउनुभयो । ‘म एक हदसम्म भन्छु यो कर्मकाण्डी पनि छ’, दाहालले भन्नुभयो ।
सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी हुँदा हुँदै पनि केही नयाँ रूपमा आएको उहाँले दाबी गर्नुभयो । आफूले सबैलाई समेट्ने गरी नीति तथा कार्यक्रम ल्याएको उहाँले दाबी गर्नुभयो ।
भ्रष्टाचार र विकृति अन्त गर्दै समृद्धिमा जाने तर्फ शान्ति सम्झौताका मुख्य पक्षधर गम्भीर हुनु पर्नेमा उहाँले जोड दिनुभयो । देशमा अराजकता बढ्दै गएको दाहालले बत्ताउनुभयो । संविधान जारी गर्ने र भूकम्प पछिको राहत र उद्धारमा राजनीतिक दल एक ठाउँमा उभिएको स्मरण गर्दै उहाँले अहिलेको आर्थिक समस्या समाधान गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिन आवश्यक रहेको उहाँको भनाइ छ ।
