काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार माध्यम र सोसल मिडियामा अराजकता बढेको बताउनुभएको छ ।
सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको शनिबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै दाहालले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रयोग हुने भाषा शैली सुन्न र हेर्न नसकिने बताउनुभयो । सोसल मिडियाका फोटा हेर्नै नसकिने हुने दाहालले सुनाउनुभयो । ‘हाम्रो जस्तो स्वतन्त्रता भन्ने कि अराजकता मैले अन्त कहीँ पनि देखिनँ, हामी मात्रै त्यस्तो ठाउँमा छौँ’, दाहालले भन्नुभयो ।
त्यसको सुरुवात संसदबाट नै गर्नुपर्ने दाहालले बताउनुभयो । संसद्मा सांसदले बोल्ने कुरामा ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संसदमा हुने बहसलाई गुणस्तरीय बनाउनु पर्ने उहाँको धारणा छ । त्यसले देशलाई सभ्यता र संस्कृति तिर लैजाने दाहालले बताउनुभयो । कसैलाई गाली गरेर वा कसैको कुराको खण्डन गरेर ठुलो नहुने उहाँको भनाइ छ ।
संसद्मा बोलेर कुनै अर्थ नहुने खालका भाषणमा समय खर्च गर्नु बेकार हुने दाहालले बताउनुभयो । त्यसैले अर्को वर्षदेखि यस्ता कुरा हटाउन सबैले प्रतिबद्धता जनाउनु पर्ने दाहालको भनाइ छ ।
