काठमाडौं । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चाैधरीले सरकारकाे वार्षिक नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै प्रमुख सचेतक चाैधरीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समयमै प्रस्तुत हुनुपर्ने बताउनुभयाे ।
नीति तथा कार्यक्रम छाेराछोरी जन्माइसकेपछि छोराछोरी जन्माउने याेजना बनाउन छलफल गर्नेजस्तो भएको भन्दै उहाँले यसलाई सुधार गरेर निश्चित समयावधि ताेक्नुपर्ने बताउनुभयाे । 'छाेराछाेरी जन्मिसकेका छन्, तर आज हामी छाेराछाेरी जन्माउने विषयमा छलफल गरिरहेका छाैं, कुन विषय कहिले उठाउने, कम्तिमा टायम सेडुल निर्माण गराैं, नीति तथा कार्यक्रम कहिले प्रस्तुत गर्ने, बजेट कहिले प्रस्तुत गर्ने नियमावलीमा करेक्सन गरेर भएपनि एउटा सेडुल बनाउनुपर्छ'- चाैधरीले भन्नुभयाे ।
नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी सदनमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयाे । सरकारले ल्याएकाे नीति तथा कार्यक्रममा राम्राे रहेकाे भन्दै प्रमुख सचेतक चाैधरीले राम्राे कुरालाई राम्राे भन्न सक्नुपर्ने बताउनुभयाे । नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने एमालेको माग बेतुक रहेको आराेप समेत उहाँले लगाउनुभयाे ।
