काठमाडौं । प्रतिनिधि सभा सदस्य रमेश लेखकले सरकारको नीति तथा कार्यक्रम मुलुक आवश्यकतामा केन्द्रित हुनु पर्ने बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै लेखकले देशमा भएका स्रोत र साधनबाट कसरी गन्तव्यमा पुग्न सकिन्छ भन्ने कुरामा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुनु पर्नेमा लेखकले जोड दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति, विकास र समृद्धिको साधन भएको उहाँको भनाई छ ।
सरकारको नीति तथा कार्यक्रम आफैँमा साध्य नभएको उहाँले टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रम केवले साधन भएको लेखकले बताउनुभयो ।
राष्ट्र राष्ट्रिय हितको रक्षा गर्दै समृद्ध नेपालको लक्ष सरकारको नीति तथा कार्यक्रमले लिएको उहाँले बताउनुभयो । न्यायपूर्ण नेपाल निर्माणको लक्ष नीति तथा कार्यक्रमले लिएको उहाँको भनाइ छ । यसका लागि धेरै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लेखकले नीति तथा कार्यक्रम कुनै निबन्ध प्रतियोगिता नभएको बताउनुभयो । नीति तथा कार्यक्रममाथिको टिप्पणी सत्तापक्ष र प्रतिपक्षमा हुँदा फरक हुने उहाँले बताउनुभयो । सत्तापक्षमा हुनेले सबै राम्रो र प्रतिपक्षमा हुनेले सबै नराम्रो देख्ने प्रवृत्ति त्याग्नुपर्ने मा उहाँले जोड दिनुभयो । ‘यथार्थमा यसको कार्यान्वयन महत्त्वपूर्ण हुन्छ’, उहाँले भन्नुभयो ।
नीति तथा कार्यक्रम स्वर्गानुभूति गराउने खालको भन्दा पनि व्यवहारमा कार्यान्वयन हुने खालको हुनु पर्ने उहाँले बताउनुभयो । नीति कार्यक्रम जतिसुकै राम्रो लेखे पनि कार्यान्वयन भएन भने केही अर्थ नराख्ने उहाँले प्रष्ट पार्नुभयो ।
