काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले वैशाख ५ गते संघीय संसद्मा पेस गर्नुभएकाे सरकारकाे आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकले सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसद्हरुले राखेका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसक्रममा सत्ता पक्षका सांसद्ले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलका सांसद्ले राखेको संशोधन प्रस्ताव बैठकबाट बहुमतले अस्वीकृत भएको थियो ।
त्यसपछि सभामुख घिमिरेले नीति तथा कार्यक्रम पारित गरियाेस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।प्रतिनिधि सभामा २० जना सांसद्ले नीति तथा कार्यक्रममाथि संशाेधन प्रस्ताव राखेका थिए ।
त्यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसद्ले राखेको जिज्ञासा र प्रश्नकाे जवाफ दिनुभएकाे थियाे ।प्रतिनिधि सभाकाे अर्काे बैठक जेठ १४ गते बस्नेछ ।
राष्ट्रिय सभाबाट भने नीति तथा कार्यक्रम जेठ ९ गते नै पारित भईसकेको छ ।
