काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार नगरेको बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएका जिज्ञासा र प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले हिँड्दै गर्दा यो प्रकरण आएको बताउनुभयाे ।
सरकारको तर्फबाट गृह मन्त्रालय र प्रहरी प्रशासनलाई यस प्रकरणमा दोषी कोही नछुटुन् र निर्दोष नपरून् भनेर आफूले निर्देशन दिएकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'यो अलि पहिलादेखिकै चल्दै आएकाे विषय रहेछ, यो सरकरले गरेको अनुसन्धान पनि होइन, याे सरकारकै पालामा सुरु भएकाे कुरा पनि हाेइन, याे सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी अभियान सुरु भएकाे पनि हाेइन, हिँड्दै जाँदा देखा पर्याे, त्यसलाई कसरी ह्याण्डल गर्ने भन्ने चुनाैती सरकारलाई थियाे ।'
दोषी कोही नछुटुन् र निर्दोष नपरून् भन्ने विषयमा आफू अहिले पनि अडिग रहेकाे भन्दै उहाँले याे विषय अब अदालतमा पुगिसकेकाले अदालतकाे फैसला सबैले मान्नुपर्ने बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'अब त याे विषय प्रहरीकहाँबाट मुद्दा अदालतमा पुगिसक्यो, अब अदालते जे फैसला गर्छ हामी सबैकाे निम्ति स्वीकार्य हुन्छ, हामीलाई विश्वास छ अदालतले दूधकाे दूध पानीकाे पानी गर्नेछ ।'
अन्य तमाम बेथितिमा पनि सरकारको ध्यान रहेको भन्दै उहाँले कदमकदम गरेर ती सबैलाई सच्याउनुपर्ने बताउनुभयाे । सबै मिलेर अगाडि बढे मात्रै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सकिने प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
