काठमाडौं । संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे संयुक्त बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले 'संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
त्यसपछि उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि समितिका सभापति प्रधानले 'संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
