काठमाडौं । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० सदनबाट पारित भएकाे छ ।
आइतबार बसेकाे संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे दाेस्राे संयुक्त बैठकले साे नियमावली बहुमतले पारित गरेकाे हाे ।
बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० लाई पारित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख देवराज घिमिरेले साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि आजै बसेकाे पहिलाे बैठकमा संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल भएकाे थियाे । त्यसपछि उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई सभामुख घिमिरेले क्रमशः निर्णयार्थ प्रस्तुत गर्नुभएकाे थियाे ।
