काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएकाे हाे ।
आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले यस वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखिएको बताउनुभयाे । विश्व आर्थिक मन्दीका कारण यस वर्ष नेपालको अर्थतन्त्र समेत प्रभावित भएको र आर्थिक वृद्धिदर २ दशलमव १६ प्रतिशतमा खुम्चिने देखिएको अर्थमन्त्री महतले बताउनुभयाे ।
थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत हुने अनुमान रहेको उहाँले बताउनुभयाे । वस्तु आयातमा भएको संकुचन र समष्टिगत मागमा आएको कमीका कारण आर्थिक गतिविधिमा सुस्तता आई स्रोत व्यवस्थापनमा पनि दबाब देखिएको अर्थमन्त्री महतले बताउनुभयाे ।
बाह्य क्षेत्रमा सुधार भएर शोधनान्तर स्थिति बचतमा, विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटन आवागमन बढेको लगायत अर्थतन्त्रमा सकारात्मक संकेत पनि देखिन थालेको उहाँले दाबी गर्नुभयो ।
मन्त्री महतले देशका ४४ मध्ये २५ वटा सार्वजनिक संस्थान मात्र नाफा रहेका बताउनुभयाे । अर्थमन्त्री महतका अनुसार १९ वटा घाटामा सञ्चालनमा भइरहेका छन् । सरकारले ४४ वटा सार्वजनिक संस्थानमा ६ खर्ब १८ अर्ब रुपैयाँ लगानी गरेकाे उहाँले बताउनुभयाे । ती संस्थानबाट १ वर्षमा सरकारलाई १ दशमलव १६ प्रतिशत अर्थात् करिब ६ अर्ब १६ करोड रुपैयाँ मात्रै लाभांश प्राप्त भएको मन्त्री महतले बताउनुभयाे । संस्थानहरूको कुल सञ्चालन आय ३६ दशमलव २ प्रतिशतले बढेर ५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।
अर्थमन्त्री महतले आजै बसेकाे राष्ट्रिय सभा बैठकमा पनि आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएकाे थियाे ।
