काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधि सभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरु चयन गरिएकाे छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद्लाई मनोनित गरेको हाे ।
बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यहरुकाे नाम प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि उहाँले प्रस्तावित नामलाई बैठकले बहुमतले सहमति जनाएकाे घाेषणा गर्नुभयाे ।
समितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी घर्ती हुनुहुन्छ ।
समितिमा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पशुपति शमशेर जबरा र जनता समाजवादी पार्टी (जसपा) बाट प्रकाश अधिकारी सदस्य हुनुहुन्छ ।
१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट माओवादीका जगप्रसाद शर्मा, एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी यसअघि मनोनीत भइसक्नुभएकाे थियाे ।
आजै बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० पारित गरेको थियो । सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको सुनुवाइ समितिमा सांसद्हरु मनोनित गरिएकाे हाे ।
सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु, संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य र राजदूतहरुको नाममा सुनुवाइ गरेर अनुमोदन गर्ने गर्दछ ।
