काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले टीकापुर घटनामा कैद सजाय भाेगिरहेका रेशम चाैधरीलाई आममाफी दिने सरकारकाे निर्णय स्वीकार्य नहुने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै सचेतक बर्ताैलाले सर्वाेच्च, उच्च र जिल्ला अदालतले जन्मकैदको सजाय दिएका चौधरीलाई सरकारले सत्ता टिकाउनकै लागि आममाफी दिएकाे बताउनुभयाे ।
पीडितलाई थप पीडित बनाउने गरी सरकारले कानुनी राज्यको खिल्ली उडाएर चौधरीलाई आममाफी दिने निर्णय गरेकाे उहाँले बताउनुभयाे । सर्वाेच्च अदालतकाे फैसलाकाे पूर्णपाठ नआउँदै सरकारले गरेकाे निर्णय गलत भएकाे सचेतक बर्ताैलाले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'तीनै तहका अदातलले उहाँकाे बारेमा एक प्रकारकाे फैसला गरेकाे छ, पीडितलाई थप पीडित गराउने काम भएकाे छ, सर्वाेच्चकाे पूर्णपाठ आएकाे छैन, सरकार जाेगाउनका लागि, सत्ता टिकाउनका लागि विधिकाे शासन र कानुनी राज्यकाे खिल्ली उडाउने काम भएकाे छ ।'
कतिपय अवस्थामा सजाय माफी दिन सक्ने संवैधानिक व्यवस्था भएपनि त्याे व्यवस्थाकाे दुरुपयाेग गर्दै सरकारले साे निर्णय गरेकाे सचेतक बर्ताैलाले बताउनुभयाे । सबै घटनालाई राजनीतिकसँग जाेड्ने र उन्मुक्ति दिँदै जाने हाे भने गलत नजिर बस्ने भन्दै उहाँले प्रत्येक हिंसात्मक घटनालाई राजनीतिक दाउपेचको आधारबाट सत्ता लेनदेनसँग मिसाएर अघि बढ्ने खेती भइरहेकाे बताउनुभयाे । सचेतक बर्ताैलाले भन्नुभयाे - 'सर्वाेच्चकाे पूर्णपाठ आइपुगेकाे अवस्था छैन, सरकारलाई के आइलाग्याे यति हतार गर्नुपर्ने, जे खेतीपाती हुन खाेजेकाे छ, त्याे किमार्थ स्वीकार्न सकिँदैन ।'
सो निर्णय उपयुक्त नभएको भन्दै उहाँले त्यसमा ख्याल गरेर अघि बढ्न राष्ट्रपति रामचन्द्र पौडेललाई पनि आग्रह गर्नुभयो ।
