काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटले ज्येष्ठ नागरिकको भावना सम्बोधन गर्न सकेको छैन ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्दा आफूहरूको अपेक्षा पूरा हुन्छ कि भन्ने आसले बजेट भाषण सुनेर बसेको ज्येष्ठ नागरिकलाई सरकारले खुसी दिन सकेन । उहाँहरूलाई सरकारले निराश बनाएको छ ।
सामाजिक सुरक्षा भत्ता यस वर्ष ५ हजार पुग्छ होला भन्ने आस राखेका ज्येष्ठ नागरिकको आशा सरकारले पूरा गर्न सकेन । सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता ४ हजार रुपैँया नै कायम राखेको छ ।
मनमोहन अधिकारी नेतृत्वको नेकपा एमाले सरकारले एक सय रुपैँयाबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ४ हजार रुपैँया पुर्याउनु भएको थियो । ओलीले एक वर्ष पछि नै सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने बताउनुभएको भए पनि एमाले सरकार ढालेर गठबन्धन सरकार बनेको थियो ।
गठबन्धन सरकाले ज्येष्ठ नागरिक सुरक्षा भत्ता पाउने उमेरको हद गत वर्ष ७० वर्षबाट घटाएर ६८ वर्षमा झारेको भए पनि रकम भने बढाउन सकेको थिएन । यस वर्ष पनि सामाजिक सुरक्षा भत्ताको रकम ४ हजार नै कायम राखेको छ ।
सामाजिक सुरक्षाको लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैँय विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिनुभयो ।
सरकारले मुटु, मिर्गौला, क्यान्सर लगायतका गम्भीर प्रकृतिका रोगका बिरामीलाई दिने मासिक औषधी उपचार खर्चको रकममा समेत वृद्धि गरेको छैन । त्यस्ता बिरामीलाई दिने रकम पनि यथावत् राखिएको महतले जानकारी दिनुभयो ।
