काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएकाे छ ।
साेमबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आयव्ययको अनुमान विवरण (बजेट) सार्वजनिक गर्नुभएकाे हाे ।
जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ ।
अर्थमन्त्री महतका अनुसार बजेटका स्रोतमध्ये राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड उठाउने लक्ष्य राखिएको छ । वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त गर्ने लक्ष्य सरकारको छ । ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुने रकम वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६२ करोड र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ ।
