काठमाडाैं । सरकारले विवादास्पद सांसद् विकास कोष ब्युँताएको छ ।
साेमबार संघीय संसद्काे दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय पूर्वाधार विकास कार्यक्रमका लागि ८ अर्ब २५ कराेड रुपैयाँ बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभयाे ।
सो कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित हरेक सांसद्ले जनही ५ करोड रुपैयाँ खर्च गर्न पाउनेछन् । तर यसरी खर्च गर्दा एउटा आयोजनामा न्यूनतम १ करोड विनियोजन गर्नुपर्नेछ । 'निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकता जनप्रतिनिधिमार्फत् सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु'- मन्त्री महतले भन्नुभयाे ।
सांसद् विकास काेष ब्युँताउन नहुने भन्दै विराेध भइरहेका बेला सरकारले भने २ वर्षपछि साे काेष ब्युँताएकाे हाे ।
