काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे आसन्न भारत भ्रमणबारे सदनलाई जानकारी गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणबारे सदनलाई जानकारी गराउनुभएकाे हाे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा आफूले भ्रमण गर्न लागेको उहाँले जानकारी गराउनुभयाे ।
भ्रमणमा पराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिकमन्त्री प्रकाश ज्वाला, उद्योगमन्त्री रमेश रिजाल, नेपाल सरकारका सचिव, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागी हुने जानकारी पनि उहाँले दिनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने बताउनुभयाे । उहाँले भारत भ्रमणका क्रममा प्रस्तुत गरिने एजेण्डाबारे पनि सदनलाई जानकारी गराउनुभयाे ।
