काठमाडाैं । सरकारले ल्याएकाे आर्थिक वर्ष २०८०-०८१ काे बजेटमाथि प्रतिनिधि सभामा चार दिन छलफल हुने भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथि छलफलका लागि जेठ २१, २२, २३ र २४ गतेकाे मिति ताेकिएकाे जानकारी दिनुभयाे । उहाँले जेठ २५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने तय भएकाे पनि जानकारी गराउनुभयाे ।
राष्ट्रिय सभामा पनि बजेटमाथि ३ दिन छलफल हुनेछ । आइतबार साँझ बसेकाे राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेटमाथि सामान्य छलफलका लागि जेठ २१, २२ र २३ साथै अर्थमन्त्रीकाे जवाफका लागि जेठ २४ गतेकाे मिति निर्धारण गरिएकाे जानकारी दिनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणपछि मात्रै बजेटमाथि छलफल हुनेगरी मिति ताेकिएकाे छ । प्रधानमन्त्री प्रचण्ड ४ दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदै हुनुहुन्छ । उहाँ जेठ २० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । प्रधानमन्त्री फर्किएकै भाेलिपल्टदेखि प्रतिनिधि सभामा बजेटमाथि छलफल हुनेछ ।
आइतबार प्रतिनिधि सभा बैठकअघि बसेकाे संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा अर्थमन्त्री महतले आगामी आर्थिक वर्षकाे बजेट सार्वजनिक गर्नुभएकाे थियाे । संयुक्त बैठकपछि बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटकाे प्रति टेबल भएकाे छ भने आर्थिक विधेयक,२०८० पनि पेस भएकाे छ ।
