काठमाडाैं । संसदीय सुनुवाइ समितिको पहिलो बैठक आज बस्दैछ ।
बिहान ८ बजे बस्ने समितिकाे पहिलो बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बाेधन गर्नुहुने कार्यक्रम छ ।
१५ सदस्य रहेको सुनुवाइ समितिले आइतबार पूर्णता पाएकाे थियाे । समितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी घर्ती हुनुहुन्छ ।
समितिमा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पशुपति शमशेर जबरा र जनता समाजवादी पार्टी (जसपा) बाट प्रकाश अधिकारी सदस्य हुनुहुन्छ ।
राष्ट्रिय सभाबाट माओवादीका जगप्रसाद शर्मा, एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी यसअघि मनोनीत भइसक्नुभएकाे थियाे ।
यस्तै प्रतिनिधि सभा अन्तर्गतका तीनवटा र राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठक पनि आजै बस्दैछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजे शुरु हुनेछ। महिला तथा सामाजिक मामिला समितिको ११ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक ११ बजे बस्नेछ ।
